विराटनगर — विराटनगरस्थित परोपकार श्मशान घाटमा मध्यरातमा अश्लील तथा आपत्तिजनक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

दुई दिनअघि राति करिब १२ः३० बजे श्मशान घाट क्षेत्रमा केही व्यक्तिहरू निर्वस्त्र अवस्थामा भेला भई होहल्ला गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सार्वजनिक भिडियोमा टाउकोमा कालो फेटा बाँधेका केही व्यक्तिहरू शव दाहसंस्कारका लागि चिता तयार गर्ने स्थानमा आगो बाल्दै आपसमा विवाद र धकेलाधकेल गरिरहेको देखिन्छ।

स्थानीयवासीका अनुसार उनीहरूको गतिविधिबारे सोधपुछ गर्न जाँदा ती व्यक्तिहरूले उल्टै दुर्व्यवहार गरेका थिए।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरीको रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिष काफ्ले तथा विराटनगर–४ का ४४ वर्षीय छविलाल घिमिरे रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार श्मशान घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई अश्लील हर्कत गरिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।