काठमाडौं । पूर्वमाओवादी नेता तथा पूर्वपर्यटनमन्त्री सुदन किराती अन्ततः धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित हुने भएका छन् । लामो समयदेखि जारी छलफल र बार्गेनिङपछि दुवै पक्षबीच बिहीबार राति ललितपुरमा सहमति जुटेको हो ।

सहमति अनुसार किरातीले पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै उनको पक्षबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यसमेत पार्टी संरचनामा समेटिने समझदारी भएको किराती निकट एक नेताले जानकारी दिए ।

दुवै नेताले आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा अपराह्न ३ बजे संयुक्त कार्यक्रम गर्दै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहस चलिरहेका बेला हर्क–किराती सहकार्यलाई चासोका साथ हेरिएको छ ।

भोजपुरका सुदन किराती माओवादी आन्दोलनबाट उदाएका नेता हुन् । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पर्यटनमन्त्रीसमेत बनेका थिए । तर जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपाललगायत नेताहरूबीच पार्टी एकता भई नेपाल कम्युनिस्ट पार्टी गठन भएपछि किराती त्यसप्रति असन्तुष्ट बनेका थिए ।

त्यसपछि उनी माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सक्रिय भएका थिए । प्रलोपाको पाँच सदस्यीय अध्यक्ष परिषद्मा रहेका किरातीले २१ फागुनको निर्वाचनपछि भने पार्टी परित्यागको घोषणा गरेका थिए ।

यता स्वतन्त्र शैली र आक्रामक अभिव्यक्तिका कारण चर्चामा रहेका हर्क साम्पाङले श्रम संस्कृति पार्टीमार्फत वैकल्पिक राजनीतिक धार निर्माणको प्रयास गरिरहेका छन् । तर वैचारिक स्पष्टता, संगठन विस्तार र नेतृत्व व्यवस्थापनको चुनौतीबीच भएको यो एकता दीर्घकालीन रूपमा टिक्ने वा नटिक्ने भन्ने प्रश्न भने अहिले नै उठ्न थालेको छ ।

विशेषगरी दुवै नेताको फरक राजनीतिक पृष्ठभूमि, कार्यशैली र महत्वाकांक्षालाई लिएर राजनीतिक वृत्तमा अनेक अड्कलबाजी सुरु भएको छ । त्यसैले हर्क–किराती सहकार्यलाई केवल रणनीतिक समीकरणका रूपमा हेर्नेहरू पनि कम छैनन् ।