काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफू विभिन्न चुनौतीसँग एक्लै जुध्नुपरेको अभिव्यक्ति दिइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शाह र लामिछानेबीच आइतबार साँझ करिब ४५ मिनेट कुराकानी भएको हो ।
सरकार र सत्तारुढ दलबीच पछिल्लो समय बढ्दो संशय र तिक्तताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री शाहले पछिल्लोपटक सामाजिक सञ्जालमार्फत आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशय व्यक्त गरेपछि लामिछाने असन्तुष्ट रहेको बताइएको थियो । त्यही पृष्ठभूमिमा भएको भेटमा सरकार र पार्टीबीच देखिएका असमझदारी, राजनीतिक नियुक्ति तथा आगामी सरकारी कदमबारे छलफल भएको स्रोतको दाबी छ ।
भेटमा राजदूत नियुक्ति, केही उच्च तहका राजनीतिक नियुक्ति, मन्त्रीहरूको भूमिकाका साथै सरकारका आगामी निर्णयहरूबारे समेत कुराकानी भएको बुझिएको छ । रास्वपाका तर्फबाट सरकारसँग राखिएका अपेक्षा तथा सरकार सञ्चालनका विषयमा पनि लामिछानेले आफ्ना धारणा राखेको स्रोत बताउँछ ।
दुई नेताबीच प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण र सभापति लामिछानेको केही दिनपछि हुने भनिएको चीन भ्रमणका विषयमा समेत छलफल भएको स्रोतको भनाइ छ ।
बालुवाटार स्रोतले भने दुई नेताबीच सम्बन्धमा ठूलो दरार उत्पन्न भएको भन्ने ढंगले बुझ्न नहुने दाबी गरेको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो ।
लामिछानेसँग रास्वपा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको पार्टी स्रोतले बताए पनि सुरक्षा स्रोतले भने त्यसको पुष्टि गरेको छैन । प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेन भेटमा सहभागी रहेको बताइए पनि बेनले आफू उक्त भेटमा सहभागी नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । शाहले प्रधानमन्त्री निवासमा अनौपचारिक जमघट तथा पारिवारिक भेटबाहेक नियमित रूपमा भेटघाट नगर्ने गरेका कारण पनि लामिछानेसँगको यो भेटलाई चासोका साथ हेरिएको छ ।
यसअघि भएको भेटमा भने लामिछाने र शाहसँग कुमार बेनसहित उच्च तहका केही नेता सहभागी रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो ।
प्रधानमन्त्री शाहले ‘एक्लै लड्नुपरेको’ बताइरहेका बेला सरकारमा प्रभावशाली दलका सभापति लामिछाने स्वयं बालुवाटार पुगेर लामो छलफल गर्नुले सरकार र रास्वपाबीचको सम्बन्धबारे थप चासो बढाएको छ । यद्यपि, दुवै पक्षले भेटलाई नियमित राजनीतिक संवादका रूपमा व्याख्या गरेका छन्।
