काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दैछन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नेछन्। भारतीय राजदूतसँगको भेटलगत्तै उनले नेपालका लागि चिनियाँ राजदूतसँग भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहले यसअघि विदेशी कूटनीतिज्ञसँग सामूहिक रूपमा भेटवार्ता गर्दै आएका थिए। गत चैत २५ गते भएको सामूहिक भेटमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
शाहले सुरुवाती चरणमा विदेशी कूटनीतिज्ञसँग छुट्टाछुट्टै भेट नगर्ने नीति लिएका थिए। तर, पछिल्लो समय उक्त अभ्यासमा परिवर्तन देखिएको छ। गत असार २३ गते उनले एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।
आज भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गरेपछि प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी दूतावासका उच्च अधिकारीसँग पनि भेट गर्ने कार्यक्रम तय भएको छ।
छिमेकी भारत र चीनका राजदूतसँग एकैदिन हुने छुट्टाछुट्टै भेट तथा त्यसलगत्तै अमेरिकी पक्षसँग हुने भेटलाई प्रधानमन्त्री शाहको सरकारको आगामी कूटनीतिक प्राथमिकता र विदेश नीतिको दिशाबारे चासोका साथ हेरिएको छ।
