काठमाडौं । प्रधानमन्त्री बालेनले दुग्ध विकास संस्थान (डिडिसी) मा सुधारका काम भइरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले आफ्नो स्ट्याटसको चौथो बुँदामा डिडिसीको किसान बक्यौता भुक्तानी, बिक्री तथा राजस्व वृद्धि र कर्मचारी सुविधामा गरिएको कटौतीलगायतका विषयलाई सुधारका उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् ।
प्रधानमन्त्रीका अनुसार डिडीसीबाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको छ । यसअघि ७२ करोड रुपैयाँ रहेको बक्यौता ३५ करोड रुपैयाँमा झरेको उनको दाबी छ । त्यस्तै, किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको उनले बताएका छन् ।
प्रधानमन्त्रीले सुधारका प्रयास सुरु भएपछि डिडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको र औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट ९० लाख रुपैयाँ पुगेको दाबी गरेका छन् । त्यस्तै, कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरेर वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको उनले उल्लेख गरेका छन् ।
डिडीसीका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारीसमेत भइरहेको प्रधानमन्त्रीको भनाइ छ । उनका अनुसार चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ ।
तर, प्रधानमन्त्रीको उक्त दाबीप्रति नेपाली कांग्रेसका नेता गगन थापाले प्रश्न उठाएका छन् । उनले डिडीसीको दैनिक बिक्री ६० लाखबाट ९० लाख रुपैयाँ पुग्दैमा संस्थान नाफामा गएको अर्थ नलाग्ने बताएका छन् ।
‘डिडीसीको दैनिक बिक्री ६० लाखबाट ९० लाख रुपैयाँ पुग्यो भनिएको छ । प्रधानमन्त्रीलाई मन्त्रालयका साथीहरूले गएर भन्दिनुहोला—६० लाखबाट ९० लाख पुग्नु भनेको नाफा बढ्नु होइन,’ थापाले भने ।
डिडीसीको संरचना ठूलो भएकाले बिक्री बढेसँगै खर्च पनि बढ्ने उनको तर्क छ । ‘दुग्ध विकास संस्थानको संरचना यति ठूलो छ, त्यो जति धेरै बढ्दै गयो, त्यसको खर्च उति बढ्दै जाने अवस्था छ । कतैबाट आउनेवाला छैन,’ उनले भने ।
किसानको बक्यौता भुक्तानी चक्र घटेको विषयमा पनि थापाले प्रधानमन्त्रीको दाबीमाथि प्रश्न उठाए । ७२ करोड रुपैयाँको बक्यौता ३५ करोडमा झर्नु संस्थानले आम्दानी गरेर नभई अर्थ मन्त्रालयबाट रकम आएपछि सम्भव भएको उनको दाबी छ ।
‘७२ करोडको बक्यौताबाट ३५ करोडमा झर्यो भनेको कमाएर भएको होइन । यो अर्थ मन्त्रालयले पैसा दिएर भएको हो,’ थापाले भने ।
उनले प्रधानमन्त्रीले डिडीसीका विषयमा प्रस्तुत गरेको विवरणलाई लिएर व्यंग्यसमेत गरे । ‘प्रधानमन्त्री यस्तो–यस्तो कुरामा अल्मलिने हो ? कहाँ छ हाम्रो इस्यू ? प्रधानमन्त्रीले मेसै पाउनुभएन भन्ने लाग्यो मलाई,’ थापाले भने ।
