ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर लामो समयदेखि धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि घर फर्किएका छन्।

नेपाल सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति जुटेपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।

सहमति कार्यान्वयनको सुरुवातसँगै सरकारले शनिबार बिहान उनीहरूलाई सम्बन्धित जिल्लातर्फ पठाएको हो। बिहान ८ः५० बजेदेखि साझा यातायातका बसमार्फत ऋणीहरूलाई गन्तव्यतर्फ पठाइएको थियो।

सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना लघुवित्त ऋणीलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ।

उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा, नवलपरासीलगायत जिल्लातर्फ पठाइएको हो।

सरकारसँग भएको १४ बुँदे सहमतिलाई आन्दोलनरत ऋणीहरूले आफ्ना माग सम्बोधन गर्ने आधारका रूपमा लिएपछि धर्ना स्थगित भएको हो। सहमतिपछि लामो समयदेखि राजधानीमा आन्दोलनरत ऋणीहरू आ–आफ्नो घर फर्किएका हुन्।