काठमाडौँ । प्रतिनिधि सभाको भदौ महिनाभरको क्यालेण्डर स्वीकृत भएको छ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा सोमबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले भदौ महिनाको संसदीय क्यालेण्डर स्वीकृत गरेको हो।

स्वीकृत क्यालेण्डरअनुसार भदौ महिनामा प्रतिनिधि सभाको बैठक ६ दिन बस्नेछ। भदौ १५, १६, १७, २२, २३ र २४ गते बैठक बस्ने तय भएको छ।

भदौ महिनाभरको बैठकमा मुख्य रूपमा विधेयकमाथि छलफल र संसदीय कामकारबाहीलाई अघि बढाउने कार्यसूची तय गरिएको छ।

बैठकमा संसदलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा महत्वपूर्ण विधेयक र समसामयिक विषयलाई प्राथमिकताका साथ अघि बढाउने समझदारीसमेत भएको छ।

कार्यव्यवस्था तथा परामर्श समितिले संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउँदै संसदको प्रभावकारिता बढाउने विषयमा समेत छलफल गरेको छ।