पोखरा । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रका ३२५ सुकुमबासी परिवारको अन्तिम विवरण टुंगिएको छ।

दाबी–विरोध र छानबिनपछि १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी गरी ३२५ परिवारलाई भूमिहीनको सूचीमा राखिएको हो। त्यस्तै, २४२ परिवार अव्यवस्थित बसोबासीका रूपमा कायम भएका छन्।

महानगर प्रमुख धनराज आचार्यले अब कार्यपालिकाबाट निर्णय गरी जिल्ला समितिमा सिफारिस पठाइने बताए। वास्तविक सुकुमबासीको व्यवस्थापन गर्दै अर्को सातादेखि बस्ती स्थानान्तरणको प्रक्रिया अघि बढाउने महानगरको तयारी छ।

सुकुमबासी सरोकार समितिले पनि आफूहरू बसपार्क निर्माणमा बाधक नबन्ने भन्दै वैकल्पिक व्यवस्थापन गरेर मात्रै बस्ती हटाउनुपर्ने माग गरेको छ।

पाँच दशकअघि बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिए पनि सुकुमबासी तथा अन्य अतिक्रमणका कारण योजना अघि बढ्न सकेको थिएन। अब महानगरले व्यवस्थापन र स्थानान्तरणपछि जग्गा खाली गरी सुविधासम्पन्न बसपार्क निर्माण गर्ने योजना अघि सारेको छ।