काठमाडौं । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राध्यानाध्यापक विनोद पण्डितमाथि कुटपिट गर्ने एमालेका कार्यकर्ता पक्राउ परेका छन् । भर्नासम्बन्धी विवादमा प्राध्यानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–१० की वडासदस्य रिता दाहालका छोरा निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे छन्। वडासदस्य दाहाल एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् भने पक्राउ परेका दुवै जना युवा नेकपा एमालेमा आबद्ध रहेको जनाइएको छ।
वडासदस्य दाहालले आफ्नी छोरीलाई विद्यालयमा भर्ना गर्न खोज्दा प्राध्यानाध्यापक पण्डितले भर्नाको म्याद सकिएको बताएपछि विवाद भएको थियो। घिमिरेले पनि आफ्नी छोरीलाई कक्षा ११ मा भर्ना गर्न माग गरेका थिए।
म्याद सकिएकाले प्रधानाध्यापकले अहिले भर्ना गर्न नसकिने बताएपछि उनीविरुद्ध विद्यालय परिसरमै कुटपिट भएको हो ।
