काठमाडौँ । नेपाली कांग्रेसको राजनीतिमा रामहरि खतिवडाको यात्रा उतारचढावपूर्ण छ। पार्टीको जिल्ला तहबाट सुरु भएको उनको राजनीतिक यात्रा केन्द्रीय सदस्य, सांसद र संसदीय समितिको सभापतिसम्ममात्र हैन पार्टी पदाधिकारीसम्म पुग्यो। पछिल्लो समय भने कांग्रेसभित्रको नेतृत्व परिवर्तन र गुटगत समीकरणसँगै उनको राजनीतिक यात्राले नयाँ मोड लिएको छ।

विशेष महाधिवेशनमा शेरबहादुर देउवा पक्षमा उभिएका खतिवडा अन्ततः गगन थापा नेतृत्वको पार्टी संरचनामा समाहित भए। १५औँ महाधिवेशनमा त्यही संरचनाबाट खुला सहमहामन्त्री पदमा उम्मेदवारी दिएका उनलाई महाधिवेशन प्रतिनिधिहरूले भारी विश्वास गरे।

किसुनजीको साथबाट कांग्रेसको राजनीतिमा

रामहरि खतिवडा २०२६ पुस २४ गते ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, थाक्लेमा जन्मिएका हुन्। उनको राजनीतिक यात्रा २०३६ सालको बहुदल पक्षधर आन्दोलनसँग जोडिन्छ। संसद्को आधिकारिक परिचयअनुसार उनी २०४२ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन्।

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईसँगको सम्पर्क र प्रभावपछि उनी कांग्रेसको राजनीतिमा सक्रिय भए। २०४५ सालमा कांग्रेस ओखलढुंगा जिल्ला कार्यसमितिको सदस्य बनेपछि उनको संगठनात्मक यात्रा अघि बढ्यो। जिल्ला तहबाट राजनीति सुरु गरेका उनी महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगे।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि खतिवडा राष्ट्रिय संसदीय राजनीतिमा स्थापित भए। संविधानसभा सदस्यका रूपमा उनले सार्वजनिक लेखा समितिमा काम गरे।

चुनावी हारपछि संसद्मा पुनरागमन

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका यज्ञराज सुनुवारसँग पराजित भएका खतिवडाले २०७९ सालमा भने पुनरागमन गरे। ओखलढुंगाबाट ३३ हजार ५५६ मत प्राप्त गर्दै उनले सुनुवारलाई ६ हजार ८१८ मतान्तरले पराजित गरे।

त्यसपछि उनले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारी सम्हाले। निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ अफ पिरियडसम्बन्धी विवादपछि उनले उक्त पदबाट राजीनामा दिए। पछि उनी संसदीय सुनुवाइ समितिको सभापति बने।

देउवा पक्षमा उभिए, विशेष महाधिवेशनमा गगनसँग आएनन्

कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नेतृत्वमा ठूलो परिवर्तन ल्यायो। गगन थापालाई सभापति बनाउने प्रक्रियामा देउवा पक्षका धेरै नेता सहभागी भएनन्। खतिवडा पनि विशेष महाधिवेशनमा सहभागी नभएका नेतामध्ये थिए। उनी त्यसबेला देउवानिकट नेताका रूपमा चिनिन्थे।

पार्टीभित्रको विवाद चर्किएका बेला खतिवडा देउवा पक्षसँग निकट रहे। तर, विशेष महाधिवेशनपछि कांग्रेसको राजनीतिक समीकरण बदलियो। गगन थापा नेतृत्वको संरचनालाई स्वीकार्ने वा त्यसबाहिर रहने भन्ने प्रश्नमा देउवा पक्षका नेताहरूले फरकफरक बाटो रोजे। त्यहि बेला निर्वाचन आयोगले गगन नेतृत्वको काँग्रेसलाई आधिकारिकता दियो । सर्वोच्चले पनि सुरुमा गगन पक्षलाई आधिकारिता दिएपछि पछि सोही मुद्दामा पुनरावलोकन भइरहेको छ ।


मुद्दा विचाराधिन रहँदा रहँदै गगन थापाले पार्टीको १५ औँ महाधिवेशन गरे । महाधिवेशनका क्रममा खतिवडा पनि अन्ततः गगन थापा नेतृत्वको संरचनामा समाहित भए।
विशेष महाधिवेशनमा साथ नदिएको नेतृत्वसँग पछि जोडिनु र त्यही संरचनाबाट पदाधिकारीको उम्मेदवार बन्नुले उनको राजनीतिक निर्णयमाथि प्रश्न उठाउने ठाउँ दिएको छ।

ढलमल ढलमल गर्दै गगनसँग

खतिवडाको पछिल्लो राजनीतिक यात्रालाई व्यङ्ग्यात्मक रूपमा हेर्दा एउटा प्रश्न उठ्छ—विशेष महाधिवेशनमा गगन थापाको नेतृत्वलाई साथ नदिएका उनी पछि त्यही नेतृत्वको संरचनामा कसरी आइपुगे ?

देउवा पक्षसँगको निकटताबाट गगन नेतृत्वको संरचनामा समाहित हुने उनको निर्णयलाई समर्थकहरूले बदलिएको राजनीतिक परिस्थितिअनुसार पार्टीभित्रै अघि बढेको कदमका रूपमा व्याख्या गर्न सक्छन्। आलोचकहरूले भने यसलाई अवसरवादी चरित्र, नेतृत्व र गुटको समीकरणअनुसार बदलिएको राजनीतिक बाटोका रूपमा हेर्ने गरेका छन् ।

राजनीतिमा समीकरण बदलिनु असामान्य होइन। तर, नेतृत्व परिवर्तनको निर्णायक घडीमा लिएको अडान र त्यसपछिका निर्णयले नेताको राजनीतिक छवि निर्माण गर्छन्। खतिवडाको हकमा पनि विशेष महाधिवेशनमा लिएको बाटो र १५औँ महाधिवेशनमा गगन नेतृत्वको संरचनाबाट उम्मेदवारी दिने निर्णयबीचको अन्तर चर्चाको विषय बनेको छ।

प्रतिनिधिले दिए विश्वास, सहमहामन्त्रीको जिम्मेवारी

कांग्रेसको १५औँ महाधिवेशनमा खतिवडाले खुला सहमहामन्त्री पदमा उम्मेदवारी दिए। सुरुमा पार्टीलाई धोका दिएपनि महाधिवेशन प्रतिनिधिले उनलाई विश्वास गरे र सहमहामन्त्रीमा जिताए । पार्टीको पदाधिकारीमा पुगिसेका उनको पार्टीप्रतिको जिम्मेवारी बढेको छ । त्यतिमात्रै हैन, उनको राजनीतिक यात्रामा अर्को महत्त्वपूर्ण अध्याय थपिएको छ

जिल्ला राजनीतिबाट केन्द्रीय नेतृत्वसम्म, चुनावी पराजयबाट पुनरागमनसम्म र देउवा पक्षको निकटताबाट गगन नेतृत्वको संरचनामा सहभागितासम्मको खतिवडाको यात्रा राजनीतिक उतारचढावले भरिएको छ।