काठमाडौँ । काठमाडौँको ऐतिहासिक सहरी बस्ती असनको मौलिक संस्कृति जोगाउने उद्देश्यसहित आजबाट पुनरुत्थान अभियान सुरु गरिएको छ।
असन डबलीमा आयोजित विशेष समारोहमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले अभियानको शुभारम्भ गरिन्। उद्घाटनअघि कःमिलाछीदेखि असन, भोटाहिटी, महावौद्ध स्तुप हुँदै केलटोलसम्म सांस्कृतिक बाजागाजासहित पदयात्रा गरिएको थियो।
यस क्षेत्रमा रहेका परम्परागत गुठी तथा सांस्कृतिक समूहहरूले झाँकी र वादन प्रस्तुत गर्दै मौलिक संस्कृति प्रदर्शन गरेका थिए।
महानगरपालिकाले यो अभियान हरेक शनिबार नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ। साथै, अभियानलाई विस्तार गर्दै वडा नं २५ सम्म पुर्याइने पनि बताइएको छ। कार्यक्रममा स्थानीय संस्कृति संरक्षण र पुनर्जीवनलाई मुख्य लक्ष्य बनाइएको छ।
