काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले शुक्रवार बिहान आफ्नो फेसबुकमा नेपाल टेलिकमको सस्तो फाइबर इन्टरनेटको प्रचार गर्दै पोस्ट गरे । अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य महङ्गाउँदै गर्दा नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएसको फाइबर इन्टरनेट जडान गर्न सकिने भन्दै बनाएको पोस्टर प्रधानमन्त्री बालेनले आफ्नो फेसबुकमा साझा गरेका हुन् । 

प्रधानमन्त्रीको अपलोड गरेको पोस्टमा यदि कोही कसैले इन्टरनेट जडान गर्नु परेमा १९८ मा सम्पर्क गर्नु भनिएको थियो । बालेनको उक्त पोस्टपछि नेपाल टेलिकममा कल गर्नेको लाइन लागेको छ । शुक्रवार दिउँसो यो समाचार तयार पार्दा १९८ मा कल गर्दा ग्राहक प्रतिनिधिसँग कुरा गर्न कम्तीमा १० मिनेट होल्ड गर्नुपर्छ । चापअनुसार सो समय बढ्दो छ, घट्दो छैन । 

प्रधानमन्त्रीको पोस्टपछि नेपाल टेलिकमको इन्टरनेट जडान गर्न थुप्रैले इच्छा देखाए । तर सेवा लिन भन्दै ग्राहक प्रतिनिधिसँग कुरा गर्ने अधिकांश नागरिक निराश बनेर फोन राख्न बाध्य छन् । ‘प्रधानमन्त्रीको पोस्ट देखेर टेलिकममा फोन गरेको, उठ्नै १५ मिनेट लाग्यो । फोन उठेर आफ्नो ठेगाना बताएको, उहाँहरूले ‘सरी, तपाईँको क्षेत्रमा सेवा दिन सक्दैनौँ’ भन्ने जवाफ दिएर फोन राख्नुभयो ।’, नेपाल हबसँग कुरा गर्दै पाटन नगरपालिका १० बैतडीका हरिश भट्टले भने । 

पश्चिम र विकट जिल्लामा मात्र हैन, पूर्वी जिल्लामा समेत नेपाल टेलिकमको इन्टरनेटको सेवा पुगेको छैन । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका ९ का योग्य राज गिरीले प्रधानमन्त्रीको पोस्टपछि दसैँमा इन्टरनेट राख्नुपर्‍यो भनेर नेपाल टेलिकमलाई सम्पर्क गरेको तर सेवा नभएको जवाफ पाएको बताए । ‘हामीले इन्टरनेट चाहेर पनि राख्न पाएका छैनौँ । प्रधानमन्त्रीले पोस्ट मात्रै गरेर हुन्छ ?’, गिरीले प्रश्न गरे । 

उनीहरुमात्रै हैनन्, प्रधानमन्त्री शाहले गरेको पोस्टमा पनि धेरैजसोले आफ्नो ठाउँमा सेवा नभएको र भए पनि टेलिकमका कर्मचारीको प्रतिक्रिया झुर भएको बताएका छन् । सस्तो प्याकेजको प्रचार गरिए पनि सेवा नै उपलब्ध नभएको भन्दै उनीहरूले प्रधानमन्त्रीको पोस्टको औचित्यमाथि प्रश्न उठाएका छन्।

पछिल्लो समय विभिन्न इन्टरनेट सेवा प्रदायकले मूल्य बढाइरहेको अवस्थामा नेपाल टेलिकमको ३० एमबीपीएसको प्याकेजले नागरिकको चासो बढाएको छ। घरमा वृद्ध वृद्धा मात्रै रहेका परिवारका लागि सामान्य इन्टरनेट प्रयोग गर्न यो प्याकेज उपयोगी हुने ठानेर सम्पर्क गर्नेहरू पनि सेवा उपलब्ध नभएको जवाफ पाएपछि निराश बनेका छन्।

सरकारको लगानी रहेको नेपाल टेलिकमले सस्तो इन्टरनेटको प्रचार गर्नुअघि सेवा उपलब्धताको अवस्था स्पष्ट पार्नुपर्ने नागरिकहरूको माग छ। आकर्षक प्याकेज सार्वजनिक गर्नु सकारात्मक भए पनि सेवा नै नपुगेका क्षेत्रमा त्यसको प्रचारले मात्रै नागरिकको आवश्यकता पूरा नहुने भन्दै उनीहरूले सरकारी सेवाप्रति आक्रोश समेत पोखेका छन् ।