काठमाडौँ । काठमाडौँमा हुनुहुन्छ ? अचानक बिरामी हुनुभयो वा दुर्घटनामा पर्नुभयो ? अब तपाईंलाई सहयोग गर्न एकदमै चाँडै मोटरसाइकलमै स्वास्थ्यकर्मी आइपुग्नेछन्।

काठमाडौँको ट्राफिक जाममा चार पाङ्ग्रे एम्बुलेन्स आउन ढिला हुन सक्छ। यस्तो अवस्थामा बिरामीको उपचार सुरु गर्न जति ढिला हुन्छ, जोखिम पनि त्यति नै बढ्न सक्छ। यही जोखिम कम गर्न काठमाडौँ महानगरपालिकाले आजदेखि मोटरसाइकल एम्बुलेन्स सेवा सुरु गरेको छ।

मोटरसाइकल एम्बुलेन्स सञ्चालन गर्न नेपाल एम्बुलेन्स सेवालाई २ वटा मोटरसाइकल हस्तान्तरण गर्दै सुनिता डंगोलले भनिन्, ‘एम्बुलेन्स भन्ने वित्तिकै बिरामी बोकेर अस्पताल जाने सवारी साधन सोचिन्छ । तर, हामीले जोखिममा रहेका बिरामी भएका ठाउँमा आकस्मिक स्वास्थ्य सेवाको तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पु¥याउन यो सेवा थालेका हौँ ।’ एम्बुलेन्स हस्तान्तरण अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘ट्राफिक जाम भएका कारण सोचेको समयमा, अपेक्षा गरेको समयमा ४ पाङ्ग्रे एम्बुलेन्स नपुग्न सक्छन् । यस्तो अवस्थामा गोल्डेन आवर (जीवन बचाउन आवश्यक पर्ने एक दुई मिनेटको समय) मा रहेका व्यक्तिको जीवन बचाउन दक्ष जनशक्ति बिरामी भएका ठाउँमा छिट्टो पु¥याउन यसप्रकारको सेवा थालेका हौँ ।’

अब आकस्मिक स्वास्थ्य समस्या पर्दा तपाईंले फोन गर्नासाथ तालिमप्राप्त स्वास्थ्यकर्मी आवश्यक उपकरणसहित मोटरसाइकलमा तपाईं भएको ठाउँसम्म पुग्नेछन्। मोटरसाइकल एम्बुलेन्समा प्राथमिक तथा आकस्मिक उपचारका लागि आवश्यक उपकरण र सामग्री भएको ‘रेड ब्याग’ पनि हुनेछ। उनीहरूले तपाईँको अवस्था जाँच गर्नेछन्, तत्काल प्राथमिक उपचार दिनेछन् र अवस्था बिग्रन नदिन आवश्यक सहयोग गर्नेछन्।

स्वास्थ्यकर्मीसहितको मोटरसाइकल एम्बुलेन्सले तपाईँलाई अस्पताल भने लैजाने छैनन्। यसको काम अस्पताल लैजाने एम्बुलेन्स पुग्नुअघि नै बिरामी भएको ठाउँमा पुगेर उपचार सुरु गर्नु हो। त्यसपछि उनीहरुले तपाईँको अवस्था र आवश्यकताअनुसार चार पाङ्ग्रे एम्बुलेन्स बोलाउनेछन् र अस्पताल पठाउनेछन् ।


कसरी आउँछन् मोटरसाइकल एम्बुलेन्स ?
एम्बुलेन्स सेवा लिनका लागि १०२ मा फोन गर्नुपर्छ । यो एम्बुलेन्स सेवा लिनका लागि प्रयोग हुने नम्बर हो । तपाईँले सो नम्बरमा फोन गरेर आफ्नो अवस्था र स्थानबारे जानकारी दिएपछि तपाईँ भएको ठाउँमा २ पाङ्ग्रे वा ४ पाङ्ग्रे एम्बुलेन्स चाहिने हो, त्यहिअनुसार एम्बुलेन्स परिचालन हुन्छन् ।