काठमाडौं । सरकारले विश्वविद्यालयहरूमा उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाउँदै सिफारिस समिति गठन गरेको छ। प्रधानमन्त्री बालेन शाहले शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेका हुन्। समितिमा शिक्षा सचिव र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रहेका छन्। शिक्षा मन्त्रालयका अनुसार समितिले उपकुलपति छनोट प्रक्रिया अगाडि बढाउनेछ र भोलिसम्म सार्वजनिक सूचना जारी गर्ने तयारी गरिएको छ।

सरकारले खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त गर्ने जनाएको छ। यसका लागि विज्ञहरूको छुट्टै टोली बनाएर नाम छनोट गरिनेछ। उक्त टोलीले सिफारिस गरेका नामहरू समितिमा पेस हुने र मेरिटका आधारमा अन्तिम निर्णय गरिने बताइएको छ। यसैबीच, नयाँ उपकुलपति नियुक्तिमा समय लाग्ने भएकाले तत्कालका लागि विश्वविद्यालयहरूमा निमित्त उपकुलपति तोक्ने तयारी गरिएको छ। मन्त्रालय स्रोतका अनुसार विश्वविद्यालयका डिनहरूमध्येबाट कसैलाई अस्थायी रूपमा जिम्मेवारी दिने योजना छ, ताकि दैनिक कामकाज प्रभावित नहोस्।

सरकारले हालै अध्यादेशमार्फत विश्वविद्यालयका पदाधिकारीहरूलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको हो। अब त्रिभुवन विश्वविद्यालयदेखि अन्य विभिन्न विश्वविद्यालय र सेवा आयोगहरूमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्नेछ। अध्यादेशअनुसार उपकुलपति बन्न मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि ९पीएचडी० गरेको, अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको, ४० वर्ष उमेर पूरा भएको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने व्यवस्था गरिएको छ।