काठमाडौं । अभिनेत्री नीता ढुंगाना र बालगायक तथा कलाकार अशोक दर्जी सामाजिक विषयवस्तुमा आधारित भावनात्मक चलचित्र ‘पार्वती’मार्फत दर्शकमाझ आउने भएका छन् । सार्वजनिक पोस्टरले नै यो चलचित्र दिदी–भाइको निस्वार्थ सम्बन्ध, संघर्ष र समाजको कठोर यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको संकेत दिएको छ ।

फिल्ममा नीता र अशोक दिदी–भाइको भूमिकामा देखिनेछन् । पोस्टरमा अशोकले नीतालाई पिठ्युँमा बोकेको दृश्यले दुई पात्रबीचको गहिरो आत्मीयता र जिम्मेवारीको सम्बन्ध झल्काउँछ । उमेरले सानो भए पनि भाइले दिदीको सहारा बनेको दृश्यले चलचित्रले पारिवारिक सम्बन्धको संवेदनशील पाटोलाई उठान गर्ने अनुमान गर्न सकिन्छ ।

स्कुले पोसाकमा देखिएकी नीताको पात्र ‘पार्वती’ सामान्य जीवनभन्दा फरक परिस्थितिमा बाँचेकी युवतीको रूपमा प्रस्तुत गरिएको छ । उनको अनुहारमा देखिएको निर्दोष मुस्कानभित्र पीडा, सपना र समाजसँगको संघर्ष लुकेको आभास हुन्छ । त्यही यात्रामा अशोकको पात्र उनको सबैभन्दा ठूलो भरोसा र शक्ति बनेर उभिएको देखिन्छ ।

रक्षाबन्धनको अवसर पारेर प्रदर्शनमा आउन लागेको ‘पार्वती’ले दिदी–भाइबीचको सम्बन्धलाई केवल रगतको नातामा सीमित नराखी भावनात्मक सहारा, त्याग र जिम्मेवारीको रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ । पोस्टरको पृष्ठभूमिमा लेखिएका ‘माया’, ‘परिवार’ र ‘स्नेह’ जस्ता शब्दहरूले पनि चलचित्रको संवेदनशील कथावस्तुलाई थप बलियो बनाएका छन् ।

नीता ढुंगानाका लागि यो चलचित्र विशेष मानिएको छ । उनले कथा, पटकथा, निर्देशन र मुख्य भूमिका आफैं सम्हालेकी छन् । यसले ‘पार्वती’लाई उनको व्यक्तिगत सपना र भावनासँग जोडिएको प्रोजेक्टका रूपमा स्थापित गरेको छ ।

निर्माण पक्षका अनुसार चलचित्रले समाजले फरक रूपमा हेर्ने पात्रहरूको जीवन, उनीहरूको सपना र पारिवारिक सम्बन्धको गहिराइलाई भावुक ढंगले प्रस्तुत गर्नेछ । पोस्टरले दिएको संकेतअनुसार ‘पार्वती’ मनोरञ्जनसँगै सामाजिक सन्देश बोकेको हार्ट टचिङ कथा बन्ने अपेक्षा गरिएको छ ।