चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको व्यवस्थापनमाथि प्रतिनिधिहरूले गम्भीर असन्तुष्टि जनाएका छन्। तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको महाधिवेशन चौथो दिनमा प्रवेश गर्न लाग्दासमेत मतदान प्रक्रिया सुरु हुन नसकेपछि प्रतिनिधिहरू आक्रोशित बनेका हुन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले निर्वाचन तालिका पटक–पटक प्रभावित हुँदा आफूहरू मानसिक र आर्थिक दुवै रूपमा मारमा परेको गुनासो गरेका छन्। सुरुवाती कार्यतालिकाअनुसार नेतृत्व चयनसहितका सबै प्रक्रिया तीन दिनभित्र टुंग्याउने योजना भए पनि उम्मेदवारी दर्ता, दाबी–विरोध, नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशनलगायतका चरणहरू समयमै सम्पन्न हुन नसक्दा मतदान प्रक्रिया नै पछाडि धकेलिएको प्रतिनिधिहरूको भनाइ छ।
महाधिवेशन स्थलमा रहेका केही प्रतिनिधिहरूले बसोबास र खानपानको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। “तीन दिनको तयारी गरेर आएका थियौँ, अहिले चौथो दिन लागिसक्यो। अतिरिक्त खर्च धान्न मुस्किल भइरहेको छ,” एक प्रतिनिधिले भने। अर्का प्रतिनिधिले भने, “दिनभरि लाइन बस्ने, प्रतीक्षा गर्ने र अनिश्चितता झेल्ने काम मात्रै भइरहेको छ। खाने–बस्ने खर्च बढिरहेको छ, हामी त सेकुवा भइसक्यौँ।”
प्रतिनिधिहरूले महाधिवेशनजस्तो महत्वपूर्ण कार्यक्रमको पूर्वतयारी कमजोर हुँदा पार्टीको संगठनात्मक क्षमता र व्यवस्थापकीय दक्षतामाथि नै प्रश्न उठेको बताएका छन्। उनीहरूका अनुसार नयाँ राजनीतिक संस्कार र प्रभावकारी व्यवस्थापनको प्रतिबद्धता व्यक्त गर्दै आएको पार्टीबाट यस्ता कमजोरीको अपेक्षा गरिएको थिएन।
यद्यपि पार्टी नेतृत्वले भने महाधिवेशनलाई व्यवस्थित र निष्पक्ष बनाउन आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको बताएको छ। निर्वाचन प्रक्रिया पारदर्शी र विवादरहित बनाउन केही प्राविधिक तथा व्यवस्थापकीय चुनौती देखिएकाले कार्यतालिकामा हेरफेर गर्नुपरेको नेतृत्व पक्षको भनाइ छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले प्रतिनिधिहरूको चासो उच्च रहेको छ। तर कार्यतालिका लगातार प्रभावित भइरहँदा प्रतिनिधिहरूको धैर्य पनि क्रमशः समाप्त हुँदै गएको देखिएको छ।
महाधिवेशन स्थलमा प्रतिनिधिहरूबीच व्यवस्थापनप्रति असन्तुष्टि बढ्दै जाँदा पार्टी नेतृत्वले प्रक्रिया छिटो टुंग्याएर मतदान गराउनुपर्ने दबाबसमेत बढेको छ। मतदान कहिले सुरु हुन्छ भन्ने विषयमा स्पष्ट समयतालिका सार्वजनिक नभएकाले अन्योल अझै कायम रहेको प्रतिनिधिहरूको गुनासो छ।
