काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरण, महाधिवेशन तयारी समिति तथा विधान मस्यौदा समिति गठनलगायतका प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यस्तै, पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषय, सरकारका १०० दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद्बाहिर कांग्रेसको भूमिका, प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति लगायतका विषय पनि बैठकको एजेन्डामा छन्।
बैठकमा सदस्यता व्यवस्थापन, नेपाली जनसम्पर्क समिति, समसामयिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसम्बन्धी विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ।
हिजोको बैठकले छलफल नसकेपछि आज २०८३ साउन २५ गते सोमबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक पुनः बस्न लागेको हो।
बैठकले १५औँ महाधिवेशनको तयारीलाई कसरी अघि बढाउने भन्ने विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
