नेपालगन्ज । बजारमा खाना पकाउने ग्यासको अभाव देखिइरहेका बेला नेपालगन्जमा ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्न खोजेको आरोपमा एक किराना पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा आइतबार गरिएको बजार अनुगमनका क्रममा नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला परेका हुन्।

ग्यास लुकाएर राखिएको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको थियो। त्यसक्रममा सिलिन्डरहरू उपभोक्तालाई बिक्री नगरी लुकाएर राखिएको अवस्थामा भेटिएको सहायक प्रजिअ गुरुङले बताए।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो। अनुगमनका क्रममा पसलबाट अखाद्य केही सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ।

केही दिनयता नेपालगन्जमा खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ। बजारमा ग्यास सहज रूपमा नपाइने र उपभोक्ताले समस्या भोगिरहेका बेला व्यापारीले ग्यास लुकाएर राख्दा अभाव झन् बढ्ने तथा कृत्रिम अभाव सिर्जना हुने अवस्था देखिएको प्रशासनको भनाइ छ।

ग्यासलगायत दैनिक उपभोग्य सामग्रीमा अनियमितता भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ। प्रशासनले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने व्यवसायीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

बजारमा ग्यासको अभाव भइरहेका बेला ठूलो परिमाणमा सिलिन्डर लुकाएर राखिएको भेटिनुले अभाव प्राकृतिक हो कि व्यवसायीबाटै कृत्रिम रूपमा सिर्जना गरिएको हो भन्ने प्रश्नसमेत उठेको छ।