काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सार्वजनिक प्रस्तुतिको ‘सिग्नेचर स्टाइल’ जस्तै बनेको कालो चस्मा सोमबार भने देखिएन । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग शिष्टाचार भेटवार्ता गरेपछि सार्वजनिक तस्बिरमा प्रधानमन्त्री शाहले कालो चस्मा फुकालेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तापछि खिचिएको तस्बिरमा शाह भारतीय राजदूत श्रीवास्तवसँग चुच्चे नक्सा पृष्ठभूमिमा राखेर मन्द मुस्कानसहित देखिएका छन् । सार्वजनिक कार्यक्रममा प्रायः कालो चस्मामै देखिने शाहको आजको यो फरक शैलीले भने चासो बढाएको छ ।
यसअघि गत चैत २५ गते प्रधानमन्त्री कार्यालयमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँग भेटवार्ता गर्दा पनि शाह कालो चस्मामै देखिएका थिए । औपचारिक भेटघाटदेखि सार्वजनिक कार्यक्रममा समेत कालो चस्मा नछोड्ने उनको शैली पछिल्लो समय उनको पहिचानकै रूपमा स्थापित भएको थियो ।
तर, भारतीय राजदूतसँगको आजको भेटमा भने उनले चस्मा फुकालेका छन् । उनले किन चस्मा फुकाले भन्नेबारे कुनै औपचारिक कारण सार्वजनिक भएको छैन । यद्यपि, भारतीय राजदूतसँगको भेट, चुच्चे नक्साको पृष्ठभूमि र बदलिएको उनको प्रस्तुति एकैपटक देखिएपछि तस्बिरले थप चर्चा पाएको छ ।
अझ महत्वपूर्ण कुरा, प्रधानमन्त्री शाह छिट्टै भारत भ्रमणमा जाने तयारीमा रहेको बताइएको छ । भारत भ्रमणको पूर्वसन्ध्यामा भएको भारतीय राजदूतसँगको भेटलाई त्यसैको तयारी र दुई देशबीचको सम्बन्धका विषयमा छलफलका रूपमा समेत हेरिएको छ ।
चुच्चे नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन् । नेपालले यी भूभाग आफ्नो अभिन्न हिस्सा भएको दाबी गर्दै आएको छ भने भारतले भने उक्त दाबी अस्वीकार गर्दै ती क्षेत्र आफ्नो भूभाग भएको बताउँदै आएको छ । यही सीमा विवादका बीच भारतीय राजदूतसँग चुच्चे नक्साअघि प्रधानमन्त्री शाहको फोटोसुट भएको हो ।
शाहले यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । त्यसबेला पनि उनको उक्त कदमले नेपाल–भारत सीमा र पुराना भूभागसम्बन्धी बहसलाई थप चर्चामा ल्याएको थियो ।
