काठमाडौं । नेपाली क्रिकेटले जापानमा जारी २०औँ एसियाली खेलकुदमा इतिहास रच्ने एउटा ठूलो अवसर गुमाएको छ। श्रीलंकाजस्तो बलियो टोलीसँग क्वार्टरफाइनलमा आमनेसामने भएर मैदानमा आफ्नो क्षमता परीक्षण गर्ने अवसर वर्षाले खोसिदिएपछि नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ।

नेपाल र श्रीलंकाबीच मंगलबार हुने तय भएको क्वार्टरफाइनल खेल लगातारको वर्षाका कारण रद्द भएको हो। मैदान खेल्न योग्य बन्न नसकेपछि टससमेत हुन सकेन। खेल रद्द भएसँगै आईसीसी टी–२० वरीयतामा माथि रहेको श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल अन्तिम आठबाटै बाहिरिएको छ।

नेपालका लागि यो खेल केवल एउटा क्वार्टरफाइनल मात्र थिएन। श्रीलंकाजस्तो टेस्ट राष्ट्रसँग एसियाली खेलकुदको नकआउट चरणमा खेल्दै ठूलो टोलीलाई चुनौती दिने अवसर थियो। नेपालले उत्कृष्ट प्रदर्शन गर्न सके जुनसुकै टोलीलाई टक्कर दिन सक्ने विश्वास प्रशिक्षक स्टुवार्ट लले पनि व्यक्त गरेका थिए। तर त्यो क्षमता मैदानमा देखाउने अवसर नै आएन।

अझ विडम्बना, श्रीलंकासँग खेल्ने नेपालको अवसरमा वर्षा यसअघि पनि बाधक बनिसकेको छ। सन् २०२४ को टी–२० विश्वकपमा पनि नेपाल र श्रीलंका एउटै समूहमा थिए। फ्लोरिडामा तय भएको उक्त खेलमा पनि वर्षाका कारण एक बलसमेत नफ्याँकी खेल रद्द भएको थियो।

यसपटक भने त्यसअघि नेपालले समूह चरणमा अफगानिस्तानलाई ५ विकेटले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो। जापानविरुद्धको खेल पनि वर्षाकै कारण पूरा हुन सकेन। नेपालले १५ ओभरमा १४९ रन बनाइसकेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो र नेपाल समूह विजेता बनेको थियो।

क्वार्टरफाइनलमा पुगेर पनि नेपालको भाग्य वर्षाले नै निर्धारण गरिदियो। यसअघि पाकिस्तान–हङकङ र भारत–अफगानिस्तानबीचका क्वार्टरफाइनल पनि वर्षाका कारण रद्द भएका थिए। उच्च वरीयताका आधारमा पाकिस्तान र भारत सेमिफाइनल पुगेका थिए।

नेपाल र श्रीलंकाबीच भने सन् २०१० को ग्वानझाउ एसियाली खेलकुदमा भेट भएको थियो। उक्त खेलमा श्रीलंकाले नेपाललाई २ विकेटले पराजित गरेको थियो। त्यसपछि पुनः ठूलो मञ्चमा श्रीलंकासँग खेल्ने नेपालको अर्को अवसर २०२४ को टी–२० विश्वकपमा आएको थियो, तर त्यहाँ पनि वर्षाले खेल हुन दिएन।

यसपटक एसियाडमा श्रीलंकासँग खेल्ने अवसर झनै महत्वपूर्ण थियो। जितेको भए नेपाल सेमिफाइनल पुग्दै पदकको दौडमा कायम रहने थियो। हार्दा पनि नेपालले विश्व क्रिकेटको बलियो टोलीसँग प्रतिस्पर्धाको अनुभव बटुल्ने थियो। तर न जित्ने अवसर आयो, न हार्ने—नेपालले श्रीलंकासँग खेल्नै पाएन।

यही कारण जापानको वर्षा नेपाली क्रिकेटका लागि अर्को एउटा अधुरो अध्याय बनेको छ। चमत्कार गर्न मैदानमा उत्रिनुपर्ने नेपाललाई वर्षाले मैदानमै उत्रिन दिएन।

एसियाडबाट बाहिरिएसँगै क्रिकेटमा नेपालको पदक जित्ने सम्भावना पनि समाप्त भएको छ। अब नेपाली टोली आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि ओमान जानेछ।