काठमाडौं — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गुन्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनित गरेको छ। राखेप सदस्यसचिवस्तरीय निर्णयबाट गुन्जनलाई क्यान सदस्यमा मनोनित गरिएको हो।
क्यानको विधान २०५५ को परिच्छेद २ को दफा ३ को उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्य मनोनयन गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई क्यान सदस्यमा मनोनित गरेको हो।
नयाँ सरकार गठनपछि राखेपले यसअघि क्यान सदस्य छुम्बी लामालाई फिर्ता बोलाएपछि रिक्त रहेको स्थानमा गुन्जनलाई मनोनित गरिएको हो।
क्यान सदस्यको नयाँ जिम्मेवारीलाई नेपाली क्रिकेटमा योगदान गर्ने अवसरका रूपमा लिएको गुन्जन बताउँछिन्। विशेषगरी महिला क्रिकेटको विकास, खेलाडीलाई थप अवसर र अन्तर्राष्ट्रिय एक्सपोजर दिलाउने विषयमा आफूले प्राथमिकताका साथ काम गर्ने उनको भनाइ छ।
“महिला क्रिकेटको विकासका लागि अझ धेरै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता छ। प्रतिभावान खेलाडीलाई पहिचान गरेर उनीहरूको क्षमता विकाससँगै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन मेरो तर्फबाट सक्दो पहल गर्नेछु,” गुन्जनले भनिन्।
क्रिकेटलाई खेलका रूपमा मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने माध्यमका रूपमा समेत हेरेको उनले बताइन्।
“क्रिकेटको माध्यमबाट नेपालले विश्वमा आफ्नो पहिचान अझ बलियो बनाउन सक्छ। त्यसका लागि खेलाडी मात्र होइन, समग्र क्रिकेट संरचनालाई बलियो बनाउन आवश्यक छ,” उनले भनिन्।
गुन्जन यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको स्वकीयका रूपमा काम गरेकी थिइन्। क्रिकेटप्रति बाल्यकालदेखिकै रुचि रहेकी उनले एकेडेमी तहमा क्रिकेट प्रशिक्षणसमेत लिएकी थिइन्।
सानै उमेरदेखि क्रिकेट खेलाडी बन्ने सपना देखे पनि परिस्थितिका कारण उनले आफ्नो खेल यात्रालाई निरन्तरता दिन सकिनन्। तर क्रिकेटप्रतिको लगाव भने कायम रह्यो। त्यसपछि उनी क्रिकेट व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रतियोगितासँग जोडिँदै गइन्।
हालै नेपालमा सम्पन्न आईसीसी महिला टी–२० विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये एक टोलीको सम्पर्क अधिकृतका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरेकी थिइन्। टोली र आयोजकबीच समन्वय तथा प्रतियोगिताका क्रममा आवश्यक व्यवस्थापकीय सहजीकरण गर्ने जिम्मेवारीमा रहेर उनले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको अनुभव हासिल गरेकी छन्।
अब क्यान सदस्यका रूपमा महिला क्रिकेटको संरचना बलियो बनाउने, खेलाडीलाई थप अवसर दिलाउने, नयाँ प्रतिभाको पहिचान तथा विकास गर्ने र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउने विषयमा काम गर्ने उनको योजना छ।
