काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आफ्नो पहिलो विदेश भ्रमणका क्रममा भोलि भारतको राजधानी नयाँदिल्ली जाने भएका छन्। गृहमन्त्रालयका अनुसार उनी असोज २६ गते दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत भारत प्रस्थान गर्नेछन्।

गुरुङले असोज २७ गते नयाँदिल्लीमा आयोजना हुने बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० का सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागिता जनाउनेछन्।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्। बैठकमा सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सुरक्षा, कानुन कार्यान्वयन तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

गृहमन्त्रीस्तरीय बैठकअघि सदस्य राष्ट्रका गृहसचिवहरूको बैठकसमेत हुनेछ। उक्त बैठकले गृहमन्त्रीस्तरीय छलफलका लागि आवश्यक विषय तय गर्नेछ।

भारत भ्रमणका क्रममा गुरुङले आफ्ना समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइएको छ । उनले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।