नेपाल हव
|
schedule
२०८३ बैशाख ५ गते, शनिबार ११:३० बजे
काठमाडाैँ । विश्वविद्यालय परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा लैजान विश्वविद्यालय समन्वय समितिले सर्कुलर जारी गरेको छ।
दुई साताअघि शिक्षामन्त्रीको सहभागितामा बसेको बैठकले विश्वविद्यालयभित्र रहेका विद्यार्थी सङ्गठनका ब्यानर, झन्डा, भित्ते लेखनलगायतका सामग्री तुरुन्त हटाउने निर्णय गरेको थियो। सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको हो।
निर्णयअनुसार, विश्वविद्यालय ऐनमा दलीय विद्यार्थी सङ्गठनसम्बन्धी कुनै प्रावधान भए त्यसलाई खारेज गर्न तीन तहको प्रस्ताव तयार गरी आयोगमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरिनेछ। साथै, नियमावली वा अन्य व्यवस्थामा यस्ता प्रावधान भए ६० दिनभित्र कार्यकारी परिषद् वा सम्बन्धित निकायबाट संशोधन गरिने उल्लेख गरिएको छ।
समितिले दलीय प्रभाव हटाउने क्रममा कुनै सुरक्षा चुनौती देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउने र आवश्यक परे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत गृह मन्त्रालयसँग समन्वय गरी विश्वविद्यालय परिसरमा अस्थायी वा स्थायी सुरक्षा युनिट व्यवस्थापन गर्न सकिने पनि जनाएको छ।
यस निर्णयसँगै विश्वविद्यालय परिसरलाई राजनीतिक गतिविधिबाट मुक्त बनाउने प्रयासलाई औपचारिक रूपमा अघि बढाइएको छ।