काठमाडौं । मन्त्रीबाट १४ दिनमै बर्खास्त गरिएका दीपक साहले हिजो सामाजिक सञ्जालमा एक शब्दको स्टाटस लेखे- स्पष्टीकरण । प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि देखाउन यही एक शब्द काफी थियो ।
आफ्नो पहुँचको प्रयोग गर्दै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा जागिर लगाएको आरोप लाग्ने बित्तिकै प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई पदमुक्त गरिदिए। न कुनै सोधपुछ भयो, न त उनले आफ्नो कुरा राख्ने मौका नै पाए। तर अहिले साहभन्दा चर्को विवादमा मुछिएका छन्, गृहमन्त्री सुधन गुरुङ । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनको पार्टनरसिप रहेको चर्चाले बजार तातेको छ।
दीपक साहलाई तत्कालै घर पठाउने प्रधानमन्त्रीले गृहमन्त्री गुरुङलाई भने अहिले लिखित स्पष्टीकरण सोधेका छन् । ठ्याक्कै यहीँनेर पूर्वमन्त्री साहले व्यङ्ग्य गरे— स्पष्टीकरण। उनको आशय प्रष्ट छ— मलाई प्रश्न उठ्दा सिधै बर्खास्त, अरूलाई चाहिँ स्पष्टीकरणको सुविधा ?
