काठमाडौँ – नेपाली काँग्रेसले संविधान संशोधनका लागि आवश्यक सुझाव दिन गठित समितिको काम औपचारिक रूपमा सुरु गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित १७ सदस्यीय समितिको पहिलो बैठक मंगलबार बसी संशोधनको प्रक्रिया र कार्ययोजनाबारे छलफल गरेको हो।

संविधान जारी भएको १० वर्ष पूरा भइसकेको परिप्रेक्ष्यमा अभ्यासका क्रममा देखिएका केही प्रावधानहरूलाई परिमार्जन गर्न आवश्यक रहेको भन्दै काँग्रेसले यो आन्तरिक गृहकार्य थालेको हो। बैठकमा पार्टी सभापति गगन कुमार थापाले लोकतन्त्र, नागरिक अधिकार, राष्ट्रियता र समुन्नतिलाई केन्द्रमा राखेर संशोधनको मस्यौदा तयार पार्न समितिलाई निर्देशन दिएका छन्। सभापति थापाले संविधानको सूक्ष्म अध्ययन गरी समयसापेक्ष सुधारका लागि सरोकारवाला र विज्ञहरूसँग बृहत् छलफल गर्नुपर्नेमा जोड दिएका छन्।

समितिले अबको चरणमा संविधानको विस्तृत अध्ययन गरी प्रस्तावित मस्यौदा तयार पार्ने र त्यसमाथि विज्ञ तथा आम नागरिकसँग परामर्श गर्ने योजना बनाएको छ। सरकारले पनि संविधान संशोधनको गृहकार्यका लागि छुट्टै समिति गठन गरी काँग्रेसलाई प्रतिनिधि पठाउन अनुरोध गरिरहेको सन्दर्भमा काँग्रेसले आफ्नै समिति मार्फत काम अघि बढाएको हो। यद्यपि, सरकारले बनाएको समितिमा पार्टीका तर्फबाट कसलाई पठाउने भन्ने विषयमा भने बिहीबार बस्ने अर्को बैठकले निर्णय गर्ने सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

यस समितिमा वरिष्ठ अधिवक्ता तथा संविधानविद्हरू राधेश्याम अधिकारी, हरिहर दाहाल, दिनेश त्रिपाठी लगायतका विज्ञहरूको सहभागिता रहेको छ। सरकारले शुक्रबारसम्ममा प्रतिनिधिको नाम पठाउन समय दिएकाले काँग्रेसले आफ्नो आन्तरिक र सरकारी दुवै प्रक्रियालाई सँगसँगै लैजाने तयारी गरेको छ।