काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले उनको व्यावसायिकता र कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरेको हो।
उनले २०७५ सालमा भएको निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहेर अनुसन्धान गरेका थिए। अनुसन्धानकै क्रममा प्रमाण नष्ट गरेको र यातना दिएको जस्ता गम्भीर आरोप लागेपछि उनले लामो समय निलम्बन र कानुनी लडाइँ झेल्नुपर्यो। यद्यपि, कञ्चनपुर जिल्ला अदालतले २०७७ असारमा उनलाई पूर्ण रूपमा निर्दोष ठहर गर्दै सफाइ दियो।
त्यो कठिन परीक्षाबाट खरो उत्रिएर सेवामा फर्किएका जिसीले हाल बाँके जिल्लाको कमान्ड सम्हाल्दै अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा उत्कृष्ट नतिजा देखाएका छन् । हिजो अनुसन्धानकै कारण विवादमा तानिएका जिसी आज कार्यसम्पादनमा देशभरकै प्रहरीमध्ये पहिलो नम्बरमा पर्न सफल भएका छन् ।
