काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु आजको मुख्य आवश्यकता भएको बताएका छन् । २०औँ लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

महामन्त्री थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासका पानामा मात्र सीमित राख्न नहुनेमा जोड दिएका छन् । उनले ती उपलब्धिहरूलाई आम नागरिकको जनजीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु नै सबैको साझा दायित्व भएको उल्लेख गरे । आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो, उनले भनेका छन् । मुलुकमा व्याप्त निराशा चिर्न र लोकतन्त्रलाई बलियो बनाउन सुशासन अपरिहार्य रहेको उनको भनाइ छ ।

२०६३ सालको जनआन्दोलनमार्फत निरंकुश राजतन्त्रको अन्त्य भई लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २०औँ लोकतन्त्र दिवस मनाइँदै छ ।