काठमाडौँ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
थापाथलीस्थित बागमती नदी किनारमा हालै खाली गराइएको क्षेत्रको शनिबार निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई तत्काल सुरक्षाका उपाय अपनाउन निर्देशन दिइन्। खाली गरिएका तथा भविष्यमा गरिने स्थानहरूमा तारबार लगाउन बागमती सभ्यता एकीकृत विकास समिति लगायत सरोकारवाला निकायसँग समन्वय गर्न पनि उनले आग्रह गरिन्। साथै, सार्वजनिक निर्माण विभागमार्फत संरक्षण कार्य अघि बढाउन आवश्यक प्रक्रिया सुरु गर्न उनले निर्देशन दिएकी छन्। यसअघि आइतबार उनले नागार्जुनको इचङ्गुस्थित कोलोनी क्षेत्रको पनि स्थलगत निरीक्षण गरेकी थिइन्।
महानगरले अव्यवस्थित बस्तीका वास्तविक भूमिहीनलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्ने योजना बनाएको जनाएको छ। यसै क्रममा थापाथली क्षेत्रको सुकुम्बासी बस्ती वैशाख १२ गते खाली गराइसकिएको थियो। त्यसअघि नै माइकिङमार्फत खाली गर्न सूचना दिइएको महानगरले जनाएको छ।
