काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा जलाइएका गाडीका नाममा इन्धन खर्च भइरहेको पाइएको छ । यो विषय खुलेसँगै मन्त्री निशा मेहताले इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।
प्रयोगविहीन ती सवारीका नाममा कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् । उक्त आन्दोलनमा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिइरहेको बताइएको छ ।
