काठमाडौँ । नेपाली राजदूतावास आबुधाबीले दुबई लगायत युएईका विभिन्न क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका हुन्डी कारोबारमाथि निगरानी कडा पारेको छ। त्यस्ता गतिविधिबारे जानकारी संकलन गरी सरकारलाई पठाउने काम सुरु गरिएको दूतावासले जनाएको छ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय सहयोग रोक्ने राष्ट्रिय नीतिअनुसार यो कदम चालिएको हो। विदेशमा बसेर अनौपचारिक माध्यमबाट रकम संकलन गर्ने र नेपाल नपठाई हुन्डीमार्फत कारोबार गर्ने व्यक्ति वा संस्थाबारे गोप्य सूचना संकलन गरी परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित निकायमा पठाइने व्यवस्था गरिएको छ। दूतावासले युएईमा रहेका नेपालीहरूलाई यस्ता गैरकानुनी आर्थिक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै, कुनै व्यक्ति वा संस्थाले हुन्डी कारोबार गरेको देखिए प्रमाणसहित जानकारी उपलब्ध गराउन पनि अनुरोध गरेको छ।
यसरी प्राप्त सूचनाका आधारमा आवश्यक तथ्याङ्क तयार पारेर कानुनी कारबाहीका लागि नेपाल सरकारका सम्बन्धित निकायमा पठाइने दूतावासले जनाएको छ। हुन्डी कारोबार नियन्त्रण गर्न सहयोग पुर्याउने उद्देश्यले विशेष इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ।
