काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेको छ। महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको जोखिम रहेको छ। सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा बागमतीका नवलपुर र चितवन, मधेसका बारा, पर्सा र धनुषा तथा कोशीका झापा र मोरङमा विशेष सतर्कता अपनाउन भनिएको छ।

बुलेटिनअनुसार हावाहुरी आज बुधबार अपराह्न ४ बजेदेखि सुरु भई बिहीबार बिहान ६ः४५ बजेसम्म कायम रहने सम्भावना छ। मौसमविद्हरूले मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गएको बताएका छन्। यसको प्रभाव देशका धेरै स्थानमा पर्ने अनुमान गरिएको छ।