काठमाडौं । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले आफ्नो सम्पत्ति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। संसद सचिवालयले विवरण सार्वजनिक नगर्ला भन्ने आशंकापछि आफैं फेसबुकमा राखेको उनले बताएका छन्।
पुनले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग चारवटा जग्गा भए पनि घर भने छैन। आफू हाल भाडाको घरमा बसिरहेको उनले उल्लेख गरेका छन्। उनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका–८ खुरखुरे टोल रहेको छ भने हाल कास्कीको हमालटोलमा डेरामा बस्दै आएका छन्। उनका अनुसार कास्कीको माझठाना गाउँपालिका–७ मा चार टुक्रा जग्गा रहेको छ। ती जग्गा २०५२ सालमा पदम पुनसँग मिलेर करिब ४ लाख रुपैयाँमा खरिद गरिएको र कुल क्षेत्रफल ४ रोपनी ६ आना रहेको उनले जनाएका छन्। बिक्रीमा राखिए पनि अहिलेसम्म नबिकेको उनको भनाइ छ।
पुनले आफूसँग ३ तोला सुन रहेको बताएका छन्। उक्त सुन २०६० सालमा किनेको र श्रीमतीलाई इष्टमित्रले उपहार दिएको दाबी गरेका छन्। यस्तै, दुई बैंक खातामा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको उनले जनाएका छन्। त्यसमध्ये २५ लाख रुपैयाँ हालैको चुनावमा प्राप्त सहयोग रकमबाट बाँकी रहेको र उक्त रकम बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च भइरहेको बताए। बाँकी ४ लाख रुपैयाँ साथीहरूबाट प्राप्त भएको तथा व्यक्तिगत खर्चका लागि रहेको उनको भनाइ छ।
उनको विवरणअनुसार सवारीसाधन र बैंक सेयर भने शून्य छ। आत्मकथा २ लाख ५० हजार प्रति बिक्रीबाट आएको रकम राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन्। पुनले आफ्नो विवरण सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्र र पुस्तक बिक्रीबाट करोडौं रकम संकलन गरेको आरोप लगाउनेहरूलाई छानबिन गर्न आग्रह गरेका छन्।
