काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय सार्वजनिक भइरहेका लैङ्गिक हिंसाका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै पीडितलाई तत्काल उजुरी दिन आग्रह गरेको छ। मन्त्रालयले दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

प्रेस विज्ञप्तिमार्फत मन्त्रालयले महिला तथा किशोरीमाथि हुने शारीरिक, मानसिक, यौन तथा आर्थिक हिंसालाई मानवअधिकारको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गरेको छ। संविधानले सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयनका लागि सचेतना अभिवृद्धि, संरक्षण र पुनर्स्थापनाका कार्यक्रमलाई तीव्र बनाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन्।

हिंसामा परेका वा त्यस्तो घटना थाहा पाएका व्यक्तिले तुरुन्त सहयोग पाउन सकून् भनेर सरकारले विभिन्न निःशुल्क हेल्पलाइन सञ्चालनमा ल्याएको छ। राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ’ ११४५, बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलासका लागि १०४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था छ।

यस्तै, स्वास्थ्य सेवा र कानुनी सहयोगका लागि देशभरका अस्पतालमा रहेका एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) तथा नेपाल प्रहरीको १०० नम्बरमा पनि सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। पीडितको पहुँच सहज बनाउन मोबाइल नम्बर ९८५१३११११२ मा ह्वाट्सएप वा इमेलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ। साथै, हिंसा प्रभावितहरूको दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरता अभिवृद्धिका लागि सीप विकासका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि राज्यसँगै परिवार, समुदाय, निजी क्षेत्र र सञ्चार माध्यमको पनि साझा जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्रालयले सबैलाई सहकार्य गर्न आह्वान गरेको छ।