काठमाडाैँ । इरानले स्ट्रेट अफ हर्मुजमा पुनः कडा नियन्त्रण लागू गरेको दाबी गरेको छ। इरानी सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले जहाजहरूको आवतजावत कडाइका साथ नियन्त्रित गरिएको जनाएको हो।
कतारको सञ्चारमाध्यम अल्जजिराका अनुसार अमेरिकाले इरानतर्फ आउने–जाने जहाजहरूमा अवरोध गरिरहेकाले हर्मुजमा कडाइ गरिएको दाबी गरिएको छ। “जबसम्म जहाज आवतजावत पूर्ण स्वतन्त्र हुँदैन, नियन्त्रण जारी रहन्छ,” विज्ञप्तिमा उल्लेख छ।
यसअघि इरानी विदेशमन्त्री सईद खातिबजादेले युद्धविराम अवधिभर हर्मुज खुला राखिने बताएका थिए। तर पछिल्लो निर्णयपछि अवस्था फेरि अनिश्चित बनेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रियुटर्सका अनुसार केही ट्यांकरहरू हर्मुज हुँदै गुज्रिए पनि नियमित आवतजावतबारे स्पष्टता छैन।
विश्वको करिब २० प्रतिशत तेल यही मार्गबाट ओसारपसार हुने भएकाले यहाँको अवरोधले विश्व बजारमा ठूलो असर पार्ने गरेको छ।
