काठमाडौँ । नेकपा एमालेले गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ। सम्पत्ति विवरणमा सेयर कारोबार लुकाएको र विवादास्पद व्यापारीसँग साँठगाँठ गरेको गम्भीर आरोप लगाउँदै एमालेले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएको हो। सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै गृहमन्त्री गुरूङ विवादको घेरामा तानिएका हुन्। एमालेका अनुसार गृहमन्त्रीले आफ्नो आर्थिक कारोबार पारदर्शी नराखेको र व्यवसायीहरूसँगको अस्वाभाविक सम्बन्धले पदको गरिमा घटाएको छ।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– गृहमन्त्रीसँग जोडिएको यो प्रकरण केवल आशंका मात्र होइन, यसले विगतका अनियमितताका रहस्यहरू समेत उजागर गर्ने संकेत गरेको छ। सम्पत्ति विवरण सार्वजनिक भएपछि सुरु भएको यो बहसले अहिले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। प्रतिपक्षी दलले यसलाई नीतिगत भ्रष्टाचारु र स्वार्थको द्वन्द्वको रूपमा व्याख्या गर्दै अनुसन्धान प्रक्रिया अघि नबढेसम्म सदनमा कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
