तपाईंलाई लाग्ला, १०० रुपैयाँले के नै आउँछ र ? तर यही १०० रुपैयाँले अहिले सुदूरपश्चिमका नाकाहरूमा भूकम्प ल्याइदिएको छ।
हिजोसम्म भारतीय बजार बनगाउँ र पलियामा नेपालीहरूको जुन मेला लाग्थ्यो, आज त्यहाँ कर्फ्युु लागेजस्तै सन्नाटा छ। सरकारले जबदेखि १०० रुपैयाँ नाघ्नेबित्तिकै भन्सारको रसिद काट्न सुरु गर्‍यो, तबदेखि ८० प्रतिशत नेपालीले सीमापारिको बाटो बिर्सिएका छन्।  किनकि अब झोलामा एउटा लुगा वा दुई किलो चिनी बोकेर आउँदा पनि भन्सारको रसिद काट्नुपर्छ । साना उपभोक्ता त डराए, तर के तस्करी रोकियो त ?

भन्सारको झन्झटले गर्दा साधारण मान्छे त भारत जान छाडे, तर सामान तस्करी गर्ने समूह भने अझै पनि सक्रिय नै देखिन्छन्। प्रहरी-प्रशासनले चेकजाँचमा कडाइ गरेको दाबी गरे पनि भित्री बाटोबाट सामान ल्याउने क्रम रोकिएको छैन। यसले गर्दा नियम केवल सोझा जनताका लागि मात्रै हो कि भन्ने प्रश्न उठेको छ।