काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याउँदै उनले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

पार्टी परित्यागको घोषणा गर्दै नेता किरातीले यस अवधिमा आफूलाई मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । । फेसबुकमा एक स्टाटस लेख्दै उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई आफ्नो लागि ‘अमूल्य सम्पत्ति’ भएको बताएका छन् ।

किरातीले लेखेका छन्– “संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु।” पार्टी छाडे पनि आफू राजनीतिबाट भने टाढा नहुने किरातीको प्रष्टोक्ति छ। उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता समेत जनाएका छन् ।