काठमाडौँ । काठमाडौँ उपत्यकाको सडकलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरी यतिबेला आक्रामक रूपमा प्रस्तुत भएको छ। नियम मिचेर सवारी चलाउनुहुन्छ भने अब होसियार हुनुहोस्! पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६ सय ९२ जना सवारी चालकहरू कारबाहीमा परेका छन्।

 ट्राफिक नियमको धज्जी उडाउने यी चालकहरूबाट मात्रै एकैदिन ७ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मापसे गरेर सवारी चलाउने ९१ जना र तीव्र गतिमा सवारी हुइँक्याउने १ सय ३२ जनालाई प्रहरीले तह लगाएको छ। त्यस्तै, लेन अनुशासन पालना नगर्ने २ सय ३७ जना र ट्राफिक लाइटको सङ्केत नमान्ने २ सय २४ जना चालक पनि कारबाहीको दायरामा आएका छन्।

यान्त्रिक अवस्था ठीक नभएका ६३ वटा सवारी साधन, जथाभाबी हर्न बजाउने ७८ जना, ढोका खुल्लै राखेर यात्रु बोक्ने ४७ जना र जथाभाबी यात्रु चढाउने ४० जनालाई पनि ट्राफिकले कारबाहीको पुर्जी थमाएको छ।