धनगढी । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ अभियान सुरु गरेको छ। यसअन्तर्गत मेयर गोपाल हमालको नेतृत्वमा टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ।
मेयर हमालसहित ३० जनाको टोली सोमबार बिहान धनगढीबाट प्रस्थान गरेको हो। करिब १० दिनसम्म चल्ने यस यात्रामा टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेको छ। सुन्दर सुदूरपश्चिम अभियानका अभियान्ता समेत रहेका मेयर हमालले स्थानीय तहबाट पर्यटन क्षेत्रको प्रचारप्रसारलाई निरन्तरता दिन यो अभियान थालिएको बताए। यात्रामा जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा सर्वसाधारणको समेत सहभागिता रहेको छ।
टोलीलाई धनगढीबाट बाजागाजा र फूलमालासहित बिदाइ गरिएको थियो। यस अभियानले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
