काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पारे। उनले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग यस विषयमा छलफल भएको जानकारी दिँदै लिज सम्झौताको अवधि सकिएकाले अब नयाँ ढंगले प्रक्रिया अघि बढाइने बताए। “मैदान खाली गराउने कुनै उद्देश्य छैन। लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढंगले गर्नुपर्ने छ। यसबारे सकारात्मक कुराकानी भएको छ,” उनले भने। पोखरेलले राज्यको ठूलो लगानी रहेको कारण मैदान खाली नहुने बताए।
त्यस्तै, सरकारले ३० दिनभित्र गर्ने कामको मूल्यांकन भइरहेको र अधिकांश काम अघि बढिसकेको उनले बताए। अब १०० दिनभित्र सम्पन्न गर्ने योजनातर्फ सरकार केन्द्रित भएको पनि उनको भनाइ छ।
