काठमाडौं । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री सादियो केमारा आत्मघाती ट्रक विस्फोटमा मारिएका छन्। राजधानी बमाको नजिकै रहेको उनको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको मृत्यु भएको हो।

उनको परिवारले पनि आत्मघाती आक्रमणमै मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। घटनापछि मालीको सरकारी टेलिभिजनले गम्भीर घाइते भएका केमाराको केही घण्टामै मृत्यु भएको खबर प्रसारण गरेको थियो। आक्रमणमा राष्ट्रपति असीमी गोइटाको निवासलाई समेत निशाना बनाइएको बताइएको छ, यद्यपि उनलाई सुरक्षित स्थानमा सारिएको छ।

माली यतिबेला व्यापक हिंसा र अस्थिरताबाट गुज्रिरहेको छ। राजधानी बमाकोसहित विभिन्न सहरहरूमा चरमपन्थी समूहहरूले शनिबार बिहानदेखि श्रृंखलाबद्ध आक्रमण गरेका छन्। सैन्य शासन रहेको देशमा सैनिक ब्यारेक, उच्च पदस्थ अधिकारीका निवास र अन्य संवेदनशील स्थानहरूमा आक्रमण भएको जनाइएको छ। ‘आजावाद लिबरेसन फ्रन्ट (एफएलए)’ नामक चरमपन्थी समूहले रुसी भाडाका सैनिकहरू पछि हटेपछि केही सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ। त्यस्तै, ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जेएनआईएम)’ ले विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा आफ्नो संलग्नता रहेको र एफएलएसँग समन्वय गरेर कारबाही गरिएको जनाएको छ।

आक्रमणकारीहरूले राष्ट्रपति गोइटा र रक्षामन्त्री केमाराको निवाससहित सैन्य संरचनाहरूलाई मुख्य निशाना बनाएको बताएका छन्। अलजजिराका अनुसार यति ठूलो स्तरको समन्वित आक्रमण ‘अभूतपूर्व’ हो र यसले सैन्य संयन्त्रभित्र त्रासको वातावरण सिर्जना गरेको छ। युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सले यस्तो आक्रमणबाट मालीका अधिकारीहरू चकित परेको बताएका छन्। उनका अनुसार विद्रोही समूहहरू अझै शक्तिशाली र घातक रहेको यस घटनाले देखाएको छ।

सन् २०२० / २०२१ को सैन्य विद्रोहपछि सत्तामा आएका राष्ट्रपति गोइटाले सुरक्षा सुधारको प्रतिबद्धता जनाए पनि देशमा हिंसा नियन्त्रणमा आउन सकेको छैन। मालीले फ्रान्ससँगको सम्बन्ध अन्त्य गर्दै रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ। तर रुस–युक्रेन युद्धका कारण केही रुसी सैनिक फिर्ता बोलाइएपछि सुरक्षा अवस्थामाथि थप असर परेको बताइएको छ।