काठमाडौं । मौसमविद्हरुले आज र भोलि देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । विशेषगरी जोखिमयुक्त सडकमा रातिको समयमा यात्रा नगर्न सुझाव दिइएको छ । पूर्वानुमान अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र दुवै बढ्दै जानेछ । वैशाख १५ को तुलनामा १६ गते अझ बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ । काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि आज बेलुका र राति ठूलो वर्षा हुनसक्ने देखिएको छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार हाल सक्रिय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रका अधिकांश भूभागमा वर्षा गराउनेछ । बुधबार र बिहीबारसम्म पनि पूर्वको मेची क्षेत्रदेखि पश्चिमको त्रिशूली–कालिगण्डकी क्षेत्रसम्म बेलाबेला पानी परिरहने अनुमान छ । यसका कारण साना खोला–खोल्सामा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम बढेको छ ।

उनले विशेषगरी त्रिभुवन, पृथ्वी, सिद्धार्थ, पासाङल्हामु र बीपी राजमार्गमा मंगलबारदेखि बिहीबारसम्म रातिको समयमा यात्रा नगर्न सुझाव दिएका छन् । मौसमविद्हरूका अनुसार पूर्व र पश्चिमतर्फ रहेका प्रि–मनसुन प्रणाली नेपालतर्फ सर्दै एकआपसमा मिसिएका छन् । यससँगै स्थानीय प्रणालीसमेत सक्रिय हुँदा केही स्थानमा छोटो समयमा अत्यधिक वर्षा हुने सम्भावना बढेको हो । मेचीदेखि कर्णालीसम्मका केही स्थानमा एक–दुई घण्टामै अत्यधिक वर्षा हुनसक्ने भएकाले डुबानको जोखिमसमेत रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले वैशाख १५ मा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लामा पहेँलो संकेत जारी गरेको छ भने वैशाख १६ मा देशभर सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार यी दुई दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुनसक्छ । हिमाली क्षेत्रमा मध्यम हिमपात वा वर्षाको सम्भावना पनि रहेको छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।

मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई मौसमको अद्यावधिक जानकारी लिएर मात्रै यात्रा र दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् ।