काठमाडौँ । मलेसिया जान तयारी गरिरहेका ओखलढुंगाका एक युवाको काठमाडौँमा शंकास्पद मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका–२ ठूलाछापका २९ वर्षीय दिवस बुढाथोकीको धामीले दिएको जडीबुटीजन्य विखमा औषधि सेवन गरेपछि ज्यान गएको उनका आफन्तले बताएका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–स्थित तेजविनायक चोकमा बस्दै आएका बुढाथोकीलाई वैशाख १९ गते पेट दुख्ने समस्या देखिएको थियो। त्यसपछि धामीले ‘खाना रुचाउने र पेट निको पार्ने’ भन्दै दिएको घोटेर खाने औषधि सेवन गरेलगत्तै उनको अवस्था एक्कासि बिग्रिएको बताइएको छ। औषधि खाएपछि जिब्रो लाटो हुने, बान्ता र पखाला लाग्ने जस्ता लक्षण देखिएपछि उनलाई तत्काल चाबहिलको हेल्पिङ ह्याण्ड्स अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतकका आफन्तका अनुसार विदेश जाने सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा औषधि सेवनपछि नै यस्तो घटना भएको हो। आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। पोस्टमार्टमपछि शव परिवारले बुझिसकेको छ। मृतक बुढाथोकीका श्रीमती र ७ वर्षीय एक छोरा छन्। यस घटनाले परिवारलाई गहिरो शोकमा डुबाएको छ। औषधि दिने धामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पीडित परिवारले किटानी जाहेरी दिएको जानकारी दिएका छन्।
