काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै गएको जनाएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित बागमती र मधेश प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार सुदूरपश्चिमबाट सुरु भएको वर्षा प्रणाली लुम्बिनी हुँदै बागमती र मधेश प्रदेशसम्म फैलिएको छ र क्रमशः पूर्वतिर सर्दै गएको छ ।n देशभर सक्रिय मौसम प्रणालीका कारण अहिले हुरीबतास, मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको विभागले जनाएको छ । हुरीबतासको गति करिब ४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने र केही स्थानमा यसको प्रभाव करिब दुई घण्टासम्म रहने अनुमान गरिएको छ ।

आज दिनभर भारी वर्षाको सम्भावना रहेको र साँझपछि वर्षा केही कम हुने अनुमान गरिएको छ । तर, साताभर नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागले जनाएको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको छ । साथै, दक्षिणी भू–भाग हुँदै फैलिएको न्यून चापीय रेखाले पनि मौसममा प्रभाव पारिरहेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहेको छ भने कोशी, कर्णाली र लुम्बिनी प्रदेशका केही भाग तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ । देशका पहाडी र तराई क्षेत्रका केही स्थानमा आंशिक बदली देखिएको छ ।

आजको मौसम

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थान तथा हिमाली र पहाडी भू–भागमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षा पनि हुन सक्छ । राति देशभर सामान्य बदली रहनेछ भने पहाडी, हिमाली तथा तराईका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

मंगलबारको पूर्वानुमान

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका थोरै स्थानमा वर्षा हुन सक्छ । राति पनि ती क्षेत्रमा बदली रही मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।

बुधबारको अवस्था

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ । केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा तराईका केही स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ ।