काठममाडौँ । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको अन्तिम खेलमा ओमानलाई ८१ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपालले १७५ रनमा रोकेको हो ।
नेपाललाई महत्त्वपूर्ण जित दिलाउनको लागि ब्याटिङमा आशिफ शेख र आरिफ शेख चम्किए । आशिफले ९४ र आरिफले ४३ रन बनाए । अर्जुन कुमालले ४८ रन बनाए । जवाफी ब्याटिङ गरेको ओमानलाई जितसम्म पुग्न नदिन गुल्सन झा एक्लैले ५ विकेट लिए । ९ ओभरमा उनले ३८ दिएर ५ विकेट लिएका हुन् । करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र दीपेन्द्रसिंह एेरीले समान एक एक विकेट लिए । चार खेलमा नेपालले यूएईविरुद्धका दुवै र ओमानविरुद्ध एक खेल जित्यो ।
ब्याटिङमा दीपेन्द्रले ३३, गुल्सन झाले १७ रन बनाए । कप्तान रोहित पौडेलले ९ रन बनाए । नेपालले ओमानसँग एक खेल भने हार्न पुग्यो । युएईलाई पहिलो खेलमा ३७ र दोस्रो खेलमा ६ रनले पराजित गरेको थियो । ओमानसँग भने १०२ रनको भारी अन्तरले पराजित हुन पुगेको थियो । नेपालले हराएको यूएईले दुवै खेलमा ओमानलाई पराजित गरिदियो । नेपालले तीन, यूएईले २ र ओमानले एक खेल जितेर यो श्रृंखला अन्त्य गरेको छन् । २४ खेलपछि नेपाल १८ अंकसहित सातौँ स्थानमा छ । २४ खेलपछि अमेरिका ३६ अंकसहित पहिलो स्थानमा छ । स्कटल्याण्ड २८ खेलपछि ३४ अंकसहित दोस्रो स्थानमा छ ।
लीग २ अन्तर्गत अर्को हप्तादेखि नेपालले कीर्तिपुरमै अमेरिका र स्कटल्याण्डसँग दुई(दुई खेल खेल्नेछ । विश्वकपसम्म पुग्न र एकदिवसीय मान्यता जोगाइराख्न नेपालका लागि आमामी हप्ताका यी चार खेल महत्त्वपूण हुनेछन् ।
