काठमाडौँ । हावाहुरी र वर्षाका कारण कक्षाभित्रै पानी पसेपछि विद्यार्थीलाई ओत दिँदै जोगाएको एक शिक्षकको मानवीय कार्यप्रति कृतज्ञता व्यक्त गरिएको छ। विजयनगर गाउँपालिका–जुडपनियाँस्थित श्री रामशरण आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत विद्यार्थीहरू वर्षाका कारण भिज्ने अवस्था आएपछि स्वयंसेवक शिक्षक शम्भु बिकले बेन्चको सहायताले उनीहरूलाई ओत दिएका थिए। उक्त कारुणिक दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक ध्यानाकर्षण भएको छ।
उक्त घटनाप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सस्मित पोखरेलले शिक्षक बिकको मानवीय कार्यको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेका छन्। उनले यस्तो कठिन परिस्थितिमा पनि बालबालिकाको सुरक्षाका लागि गरिएको प्रयास प्रेरणादायी रहेको बताएका छन्। घटनाबारे थप जानकारी लिन शिक्षा विकास तथा समन्वय इकाई, कपिलवस्तुका प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा जस्तापाताले छाइएको दुई कोठे भवनमा भेन्टिलेसनबाट पानी पसेर समस्या सिर्जना भएको पाइएको छ। विद्यालयको नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायबाट पहल भइरहेको जनाइएको छ।
पोखरेलले मनसुनपूर्वको अवस्थामा देशभर हावाहुरी, चट्याङसहितको वर्षाबाट हुन सक्ने जोखिमप्रति सचेत रहन सबैलाई आग्रहसमेत गरेका छन्।
