काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफूविरुद्ध मिडिया ट्रायल भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद खरेलले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइरहेको बताए ।

उनले लेखेका छन्, अहिले म माथि मिडिया ट्रायल भएको छ । केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा मेरो नाम जोडेर नियोजित रूपमा ‘फेक न्युज’ फैलाइएको छ । कृपया भ्रममा नपर्नु होला । अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु । गल्ती गरेको छैन । त्यसैले अलिकति पनि डर छैन । सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ । मेरो इमान नै मेरो गन्तब्यको लागि प्रयाप्त छ । यस्ता भ्रामक, नियोजित तथा कपोल्कल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ । बाँकी कानुनी उपचार खोज्ने छु।