सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका लागि न्यायाधीश डा मनोजकुमार शर्मा सिफारिस भएपछि नेपालको न्यायिक क्षेत्रमा ठूलो बहस सुरु भएको छ। विशेषगरी वरिष्ठताको परम्परा तोडिएको भन्दै यो निर्णय चर्चामा आएको हो।

को हुन् डा मनोजकुमार शर्मा ?

मनोजकुमार शर्मा पर्साको वीरगञ्जमा २०२७ असार ४ गते जन्मिएका हुन्। उनले नेपाल ल क्याम्पसबाट बीएल, भारतको पुणे विश्वविद्यालयबाट एलएलएम तथा त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन्।

उनले सन् १९९५ देखि कानुन व्यवसाय सुरु गरेका थिए। पछि उच्च अदालतमा अतिरिक्त न्यायाधीश बनेर काम गरे र २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

कसरी भयो सिफारिस ?

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाश भएपछि पद रिक्त थियो। त्यसपछि संवैधानिक परिषद्ले बिहीबार बसेको बैठकबाट शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो। बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको थियो।

यसअघि न्याय परिषद्ले प्रधानन्यायाधीश बन्न योग्य ६ जना सर्वोच्च अदालतका न्यायाधीशको सूची पठाएको थियो। त्यस सूचीमा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुँयाल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ को नाम थियो।

किन विवाद भयो ?

नेपालमा लामो समयदेखि प्रधानन्यायाधीश नियुक्त गर्दा वरिष्ठतम् न्यायाधीशलाई प्राथमिकता दिने अभ्यास थियो। तर यसपटक वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई छाडेर चौथो वरियतामा रहेका शर्मालाई सिफारिस गरियो।

त्यसैले “रोष्टर मिचियो”, “परम्परा तोडियो” भन्ने बहस चर्किएको छ। नेपाल बार एसोसिएसनले समेत यस विषयमा छलफल गर्न बैठक बोलाएको छ।

अब के हुन्छ ?

अब संसदीय सुनुवाइ समितिले शर्माको सुनुवाइ गर्नेछ। समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनलाई औपचारिक रूपमा प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

यदि नियुक्त भएमा उनले २०८९ असारसम्म करिब ६ वर्ष न्यायालयको नेतृत्व गर्नेछन्।