काठमाडौँ । पार्टीले महाधिवेशन तयारीलाई तीव्र बनाउँदै जेठ २ गतेदेखि संगठन नभएका वडामा संगठन विस्तार प्रक्रिया सुरु गर्ने भएको छ। आइतबार भएको सचिवालय बैठकमा महाधिवेशन तयारीका बारे विस्तृत छलफल गरी मिति तोकेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार जेठ २३ र २४ मा जिल्ला अधिवेशन गर्ने मिति तोकिएको हो।

प्रदेश र केन्द्रीय महाधिवेशनको मिति भने टुंगो लागेको छैन। यसअघि रास्वपाले २०८२ फागुनमा महाधिवेशन गर्ने तयारी गरेको थियो। प्रतिनिधिसभाको निर्वाचनका कारण महाधिवेशन प्रक्रिया स्थगित गर्नु परेको थियो। निर्वाचन अगाडि रास्वपाले ४ सय ५२ वडा र ६२ पालिकामा अधिवेशन गरिसकेको छ। रास्वपामा चुनाव अघि बालेन्द्र शाह समूहसहित मिसिएका थिए। पहिलो महाधिवेशनमा उनी पनि सहभागी हुनेछन्।