काठमाडौं । अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरस संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ भने २४६ वटा शंकास्पद केस फेला परेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यस अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

कंगोका स्वास्थ्यमन्त्री स्यामुएल–रोजर कम्बाका अनुसार यस पटकको संक्रमण पहिलो पटक एक नर्समा देखिएको अनुमान गरिएको छ, जसको गत अप्रिल २४ मा मृत्यु भएको थियो। परीक्षणका क्रममा हालसम्म इबोलाको ‘बुन्डिबुग्यो’ स्ट्रेनका ८ वटा केस पुष्टि भएका छन्।

यो संक्रमण इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ। कंगोमा इबोला पहिलो पटक सन् १९७६ मा देखिएको थियो र यो त्यहाँको १७औँ प्रकोप हो।

विशेषज्ञहरूका अनुसार यस पटक देखिएको ‘बुन्डिबुग्यो’ स्ट्रेनले चिन्ता थपेको छ, किनकि हाल उपलब्ध अधिकांश खोप र उपचार ‘जायरे’ स्ट्रेनलाई लक्षित गरेर विकसित गरिएको हो।

स्थानीय बासिन्दाहरूले बुनियामा त्रासपूर्ण अवस्था रहेको बताएका छन्। उनीहरूका अनुसार पछिल्लो एक सातादेखि लगातार मृत्यु भइरहेका छन् र कतिपय दिनमा एकै दिन धेरै व्यक्तिको अन्त्येष्टि गर्नुपरेको छ।

कंगोसँग सीमा जोडिएको युगान्डामा पनि इबोलाको एउटा केस पुष्टि भएको छ। संक्रमित बिरामीको मे १४ मा कम्पालास्थित अस्पतालमा मृत्यु भएको थियो। अफ्रिकाको सार्वजनिक स्वास्थ्य एजेन्सीले युगान्डा र दक्षिण सुडानमा संक्रमण फैलिने उच्च जोखिम रहेको जनाएको छ।

क्षेत्रीय आवतजावत बढ्दै गएपछि केन्याले पनि सतर्कता बढाएको छ। केन्याले देशका सबै प्रवेश बिन्दुमा निगरानी कडा पार्दै इबोलाविरुद्ध विशेष तयारी टोली गठन गरेको जनाएको छ।

इबोला भाइरस संक्रमित व्यक्तिको रगत, वान्ता तथा शरीरका अन्य तरल पदार्थको सम्पर्कबाट सर्ने ज्यानमारा रोग हो। विश्वभर यस रोगबाट संक्रमितमध्ये २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म बिरामीको मृत्यु हुने गरेको तथ्यांक छ।

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला इतिहासकै सबैभन्दा ठूलो प्रकोप मानिन्छ, जसमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। पछिल्ला वर्षहरूमा खोप र उपचार विकास भए पनि नयाँ–नयाँ स्ट्रेन देखा पर्दा चुनौती थपिँदै गएको विज्ञहरूले बताएका छन्।